आमाको मन ( भानु रचना पुरस्कार -२०७१ ले पुरस्कृत कथा )
सरण राई
समय बलवान् हुन्छ । समयले विभिन्न युगहरू ल्याउँछ । युगअनुसारका मानव
आचरण, व्यवहार र जिन्दगीहरू हुँदा रहेछन् । विगत र भविष्यको चेपुवामा
परेको यस युगका मातापिताहरू आफ्ना सन्तानहरूबाट कस्तो व्यवहारको आशा
गनुपर्ने हो ? रणभुल्लमा छन् ।
मेरा समकालीन साथीहरू सबै मातापिता भएका छन् । एकादुई झुक्किएर अविवाहित
बसेका होलान् तर ती नगण्य छन् । यस युगमा सबै मानिसहरूले विवाह गर्नु
अनिवार्य मानिन्छ र विवाहपछि छोराछोरी पाउनु झन् अनिवार्य मानिन्छ ।
छोराछोरी नभएमा समाजमा हीनताबोध महसुस गर्नुपर्ने अवस्था हुन्छ ।
विवाह गर्नै पर्ने हुँदा मेरो पनि भयो । मेरा समकालीन साथीहरूका पनि भए ।
अहिले हामी सबै प्रौढावस्थामा पुगिसकेका छौ‘ । आक्कलझुक्कल भेट हुँदा
नचाहँदानचाहँदै पनि आफ्ना छोराछोरीको बारेमा कुरा भइहाल्छ । जसका छोराछोरी
डाक्टर, इन्जिनियर, प्रोफेसर, हाकिम वा राम्रो आम्दानी गर्न सफल छन्,
उनीहरू त रातदिन चिनेजानेका मान्छेहरूलाई भेट्नासाथ तिनीहरूकै बारेमा कुरा
गर्न थालिहाल्छन् ।
राममान मेरो घनिष्ट साथी हो । उसको र मेरो एकै साल विवाह भएको थियो ।
नानीहरू पनि झण्डैझण्डै सँगसँगै जन्मिए । त्यतिबेलादेखि नै हाम्रो भेट
हुँदा हामी आफ्ना नानीहरूका बारेमा कुराहरू गथ्र्यौ । ऊ त आफ्नो स्वास्नीको
रूप, सीप र मायाको कुरा गर्न समेत रुचाउँथ्यो । ऊ ‘बाली अर्काको राम्रो र
बाला आफ्नो राम्रो’ भनेझै‘ आफ्ना नानीहरूका बारेमा बढाईचढाई कुराहरू गरेर
आनन्द विभोर हुन्थ्यौ । राममान सम्पन्न थियो । उसले जब उसका नानीहरू ५
वर्षभन्दा बढी उमेरका भए, काठमाडौंका राम्रा बोर्डिङ स्कुलमा भर्ती गरेर
उतै राख्न थाल्यो । राम्रो बोर्डिङ स्कुल, राम्रो पढाइ । ऊ सुनाउने
गथ्र्यो— उसका छोराछोरीको भविष्य उज्ज्वल छ । डाक्टर नै बनाउनेछ ।
डाक्टरहरूको राम्रो आम्दानी छ । लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको आरम्भ
भएको वर्तमान अवस्थामा पनि ‘कस्तो शिक्षा ?’ भन्ने बारे छलफल भएको थाहा
पाइएको छैन । शिक्षा भनेको राम्रो आम्दानी गर्नसक्ने हुनु पर्छ भन्ने धारणा
अझै व्याप्त छ ।
राममानका छोराछोरी बोर्डस भएपछि घरमा ती दुई मात्र रहन थाले । आमाबुबा
भाइसँग बस्थे । आमाबुबाको जीउनी सम्पत्ति निकै थियो र भाइबुहारीले
रामै्रसँग पालेका थिए । राममान बेलाबेला मसँग गुनासो गर्थे— “पत्नी यशोधरा
बरालिन थालेकी छे । म घर फर्कंदा घरमा हुँदिन ।”
“पत्नीलाई तिमी समय दिदैनौ । वास्ता गर्दैनौ । तिनी के चाहन्छिन्, थाहा पाउने प्रयत्न गर ।” मैले भनेको थिएँ ।
त्यसपछि
राममानले पत्नीप्रति ध्यान दिन थाल्यो । टेलिफोन आयो, पतिपत्नीबीच सम्वाद
गर्न सजिलो भयो । त्यसबीचमा रेडियो, टेपरिकर्डरलाई विस्थापित गर्ने ढङ्गले
टेलिभिजन देखा प¥यो । राममानको घरमा पनि एन्टेना ठडियो । रङ्गीन टेलिभिजन
राख्नु सबै सर्वसाधारणको बलबुत्तामा थिएन । हामी पनि रङ्गीन टेलिभिजन हेर्न
उनकै घरमा थुप्रिन्थ्यौ‘ । डेक, क्यासेट आयो । टीभी, भिडिओ महामारी जस्तै
फैलियो । आजभोलि त टीभी नभएको घर घरै मान्न छाडिएको छ । आधुनिक युग ! समयले
कति छिटो काँचुली फेर्दो रहेछ ।
मोबाइल फोनको घण्टी बज्छ । म मोबाइल उठाउछु “हेलो म राममान ।”
“हेलो,
के छ हालखबर ?” “धेरै दिन भयो सम्पर्क नभएको । आज बेलुकि म कहाँ नै डिनर
खाने गरी आऊँ । मेरो छोराछोरीहरू पनि आएका छन् । भेटघाट पनि हुने, गफगाफ
पनि हुने ।”
“हुन्छ ।”
म
पत्नी मायावतीलाई बेलुकि राममानकहाँ जाने कुरा भन्छु । बिहान ल्याएको
पत्रिका राम्ररी हेरेकै थिएन । हेर्न थाल्छु— एउटा खबर ‘ ... पेस्तोलसहित
युवा पक्राउ परे । पक्राउ परेका युवाका बयानअनुसार अंश नदिने पितालाई
मार्न अवैध पेस्तोल बोकेर हिडेका ... ।’ छोराहरू पनि कस्ता कस्ता ! ‘साना
हुँदा मर्ला कि भन्ने डर, ठूलो भएपछि मार्ला कि भन्ने डर’ साँच्चै रहेछ ।
छोराले बाबुआमालाई पिटेको, मारेको कैयौं घटनाहरूको सम्झना मेरो मनमा आउँछ ।
बेलुकि
म राममानको घरमा पुग्छु । सोचेको हुन्छु— सबै परिवार एकै ठाउँमा भेला भएर
सुखदुःखका कुराहरू गरिरहेका होलान् । राममान चाहिँ मलाई लिन गेटसम्म आए ।
बैठक कोठामा बसाए । उनलाई एक्लै देखेर म सोध्छु— “खै त अरूहरू ?”
“अरूहरू सबै व्यस्त छन् । यशोधरा टी.भी.मा सिरियल हेरिरहेकी छे । डाक्टर
छोरा उदय यहाँको स्थानीय अस्पतालको ‘भिजिट’ गर्न गएको छ । डाक्टर छोरी
नायुमा ल्यापटपमा फेसबुक हेरिरहेकी छे । ल्यापटपमा नै व्यस्त छे । म उसलाई
बोलाइ हाल्छु ।”
“भयो पर्दैन । तिमी र म नै बात मारेर बसौँ ।”
“नायुमा ! यहाँ आऊँ त ।”
“हुन्छ, डैड ।”
नायुमा आउँछे । सानोमा देखेको नायुमा र अहिलेको नायुमामा आकाश जमिनको
अन्तर । पूर्ण आधुनिक । छोटो कपाल, पेन्ट सर्टमा सजिएकी । “नमस्ते अङ्कल ।”
“नमस्ते । सञ्चै छौं ।”
“सञ्चै । तपाईँहरू नि ।”
“हामी पनि । अनि तिम्रो के कस्तो प्रगति छ ?”
“राम्रै छ अङ्कल । अहिले म एम.डी. गरिरहेकी छु र ल्यापटपमा त्यसैको थेसिस मिलाई रहेकी छु ।”
“डैडीले त फेसबुक हेरिरहेकी छ्यौ, भन्नुहुन्थ्यो ।’
“फेसबुक पनि हेर्छु र आवश्यक अन्य सामग्रीहरू इन्टरनेटमा खोजी गर्छु ।
यहाँ आएपछि अलिक होलोखुकुलो भएको छ । त्यसैबेला इन्टरनेटबाट पनि फाइदा
लिइहालुँ भन्ने लागेर ...”
“ठीक छ, राम्रो । जाऊ फुर्सदको सदुपयोग गर ।”
तिनी
कोठामा जान्छिन् । मात्र औपचारिकता निर्वाह गर्न तिनी आएकी थिइन् । आजका
युवाहरूसँग अरुको कुरा सुन्ने, अरूलाई बुझ्ने र आफ्नो कुरा सुनाउने फूर्सद
छैन । यान्त्रिक दुनियामा रमाइरहने यी आजका युवाहरूसँग आत्मीयता, अपनत्व,
स्नेह, माया, प्रेम, आदर, सम्मान, जस्ता मानवीय संवेगहरूको कमी हुँदै छ ।
हुन पनि ज्ञान आउन थालेपछि उनीहरूले पढाइ, तालिम, परीक्षामा उत्तीर्ण हुने र
जीवनमा पैसा कमाउने तरिका, फर्मुलाहरू मात्र सिके । पैसा थुपार्न सके
जीवनमा उत्तीर्ण भइहालिन्छ भन्ने मानसिकताबाट ग्रसित समाजमा उनीहरूले
पारिवारिक वातावरणमा आमाबुबा, बाजेबोजु, भाइबहिनी, काकाकाकी, मामामाइजू,
नातागोता, कुलकुटुम्ब र साथीभाइहरूसँग मानवीय, आत्मीय र रमाइलो वातावरणमा
अन्तरमनको कुरा पोख्ने, सुन्ने र बुझ्ने तथा भावनात्मक सुत्रमा बाँधिने
मौका नै कहाँ पाएका हुन्छन् र ?
बाबुआमा स्कुल कलेजको फिस तिर्ने, खर्च दिने मेसिन अभिभावक मात्र बने ।
आमाबाबुले पनि छोराछोरीलाई हरतरहले पैसा कमाउन सफल मेसिन मात्र बनाउन चाहे ।
कल र यन्त्रहरूमाझ कहाँ भावनात्मक सम्बन्ध हुन्छ र ?
“अँ, तिमी आजभोलि के गर्दै छौ ?” राममान सोध्छन् ।
“रिटायर्ड
भएपछि के गर्ने ? भन्ने अन्योल भयो । कैयौ कामहरू गर्न सकिन्थ्यो ।
निरङ्कुश शासनकालमा केही गर्ने वातावरण थिएन । सँधै सशङ्कित, आतङ्कित र
त्रसित भएर बाँच्नु प¥यो । सिर्जनात्मक क्रियाकलापहरू अवरुद्ध थियो ।
गणतन्त्र आएपछि मलाई पनि आफ्ना भावना, अभिव्यक्ति, उच्छ्वास र आफ्ना
अनुभवहरू लेख्ने अनुकूल अवसर आए जस्तो लाग्यो । म अहिले लेखन र पठनमा
व्यस्त हुन थालेको छु । लेखन भनेपछि लेख्नका लागि यति धेरै पढ्नु पर्दोरहेछ
कि म त पुस्तक, पत्रपत्रिका र सम्बन्धित सामग्री अध्ययनको आनन्ददायी
सागरभित्र डुब्न थालेको छु । तिमी चाहिँ के गर्दैछौं ?”
“म
चाहिँ स्वास्नीको झर्कोफर्को, नोकरचाकरहरूको गुनासो बेहोर्दै, संघसंस्था र
दलहरूलाई चन्दा दिँदै ठूलो मान्छे हुँ भन्ने भ्रम बोक्दै बेस्वादिलो
जिन्दगीको स्वाद चाख्दै छु । तिमीले त ठीक काम पक्रेछौ । मलाई लेख्न, पढ्न
भनेपछि पटक्कै मन पर्दैन । टी.भी. हेर्न पनि मन लाग्दैन । बुढेसकालमा
कम्प्युटर सिक्न पनि मन लाग्दैन । ‘बोर’, ‘बोर’ बुढेसकाल ...।”
“त्यसो
भन्नु हुँदैन राममान । जबसम्म मानिस नयाँ कुराहरू सिक्न चाहन्छ, ऊ बूढो
हुँदैन । रबिन्द्रनाथ ठाकुरले भनेझै‘— खुसी हुनुपर्छ भने धेरै कुराहरूमा
रुची राख्नु पर्छ । धेरै कुराहरूमा चाख राख, सिक नयाँनयाँ कुराहरू ।
कम्प्युटर सिकेर इन्रनेट चलाउन थाल्यौ भने त्यहाँ तिमी अर्कै नयाँ संसार
पाउने छौ । म इन्रनेट चलाउन थालेपछि समय बितेकै थाहा पाउदिन‘ ।”
“त्यही त, मन मान्दैन कतै अडिन ... ।”
“हा. हा.. हा ... पूरै गीत गाइदेऊ ।”
“हा..हा..हा ... ।” हाँसिसकेपछि ऊ गाउँछ—
“ललल ...लल... मन मान्दैन कतै अडिन
छोड्नै सकिनँ लत र लत कहिल्यै छोडिन‘
प्रेमको, मित्रताको लत लत कहिल्यै छोडिन‘ ।”
साच्चै
उनी एकचरण गीत गाउँछन् । उनी यो गीत वैंशमा पनि गाउने गर्थे । म टेबल
मादलझैँ बजाएर साथ दिन्छु । केहीबेर भए पनि हामी हाम्रो तन्नेरी कालको
मनोहर मुग्धकारी, रमाइलो समय–संसारमा अवतरण हुन पुग्छौँं । अन्तरमनभित्र
हामी बीचको पुरानो मित्रता, आत्मीयता र अपनत्व तरोताजा भएर आएको मधुरो
आभाससँग युवा कालकोजस्तै आनन्दसागरमा थाहै नपाई चुर्लुम्म डुब्छौँ । त्यो
निजी आनन्दिलो आत्मीक क्षण हुन्छ । यस्तै क्षणहरू मानिसको चाहना हो । त्यही
प्राप्तिका लागि निरन्तर प्रयत्नशील हुनु मानव प्रवृत्ति बन्छ । राममान
पनि चाहन्छ— उसलाई कसैले सुनिदेओस्, बुझिदेओस् । म पनि त्यस्तै चाहन्छु ।
तर यो यान्त्रिक युग ! अनि धन सम्पत्ति कमाउने होडमा दौडिरहेको मानिसलाई
अर्काको मन बुझ्ने, वेदना सुन्ने र सुनाउने फुर्सद कहाँ ? अन्तरमनको पुकार
बुझ्दा र सुन्दा प्राप्त हुने अतुलनीय सुखको स्वाद आजका स्वार्थी
मानिसहरूले चाख्नै पाएका छैनन् । तसर्थ उनीहरू यसका लागि लालायित हुने कुरै
भएन ।
हामीबीचको
औपचारिकताको पर्खाल ढलिसकेको हुन्छ । हामी पहिलाको मित्रवत अवस्थामा
फर्किसकेका हुन्छौ‘ । आफ्ना मनका कुराहरू निशंकोच एकअर्कालाई व्यक्त गर्ने
स्थितिमा हुन्छौ‘ । उनलाई पनि छोराछोरीको यान्त्रिक बोलीचाली व्यवहारदेखि
चित्त बुझेको रहेनछ । भनी हाल्छन्— “देख्यौ मेरा डाक्टर छोराछोरीको
चालामाला । कैयौं पल्ट अनुरोध गरेपछि बल्ल दुबैजना एकसाथ केही दिनको लागि
आएका छन् । एकसाथ सबैजना बसेर कुराकानी गरौ‘, खानपिन गरौ‘, म चाहन्छु । तर
खोइ, उनीहरूलाई वास्तै छैन । छोरा कताकता हिड्छ, छोरी पनि त्यस्तै । म त
सम्झन थालेको छु, पैसा मात्र कमाउने मेसिन डाक्टर छोराछोरी पो जन्माएछु ।
पोहोर तिनीहरूका आमा सिकिस्त बिरामी हुँदा ‘आऊ‘’ भनेर बोलाएँ । दुबैजनाले
जवाफ दिए— त्यहीको स्थानीय राम्रो डाक्टरलाई देखाउनु । हामी पैसा पठाइदिने
छौं । नभन्दै थुप्रै पैसा पठाए । रातदिन सेवासुश्रुषा गरेर पत्नी यशोधरालाई
बचाएँ ।
त्यसपछि त तिनी पनि एक अचम्मकी भएकी छन् । तिनको मन के भएको छ ? कुन्नी ?
टीभी मात्र हेरिरहन्छिन् । अरू आइमाईहरूसँग सिरियलकै कुरा गर्छिन् ।
सिरियलकै पात्रहरूसँग रुन्छिन्, हॉस्छिन्, नाच्छिन् र गाउँछिन् ।
छोराछोरीको वास्तै छैन । मेरोपर्यन्त वास्ता गर्दिन । तिनले आफ्ना वरिपरि
कृत्रिम पर्खाल निर्माण गरेर आफ्नै संसार निर्माण गरेकी छिन् । त्यही
संसारमा विलीन हुने प्रयत्नमा जीवनको अन्तिम कालखण्ड विसर्जित गर्ने अठोट
गरेकी छिन् । म के गरौ‘ ? म के गर्न सक्छु र ? मान्छेको मन...मन भाडिएपछि
के नै पो गर्न सकिन्छ र ?”
उनी
यसरी छर्लङ्ग खुलेका थिए कि म उनलाई ढाढस दिनु आफ्नो कर्तव्य सम्झन्छु र
भन्छु— “साथी राममान, भाउजूले जे गरिन् त्यो जीवनको निराशाको परिणाम हो ।
ज्यादै थाकेको मान्छे बस्न चाहन्छ, विश्राम गर्न चाहन्छ । शीतल छहारी र
सफासुग्घर बस्ने ठाउँ पाएन भने जस्तोसुकै ठाउँमा पनि बस्न ऊ बाध्य हुन्छ ।
भाउजूले पनि मन बिसाउने ठाउँ टीभी. सिरियल बनाउनुभएको हो । बुढेसकालमा
कसैले भजन किर्तन, कसैले सामाजिक सेवा आदि व्यसन बनाएका हुन्छन् । मैले
साहित्य लेखनलाई साथी बनाएको छु । अझै उहाँभित्रको उत्साह मरिसकेको छैन ।
त्यसलाई जगाउन सकिन्छ ।”
“कसरी ?”
“जीवनमा नयाँ उमङ्ग, उत्साह, प्रेरणा, रुचि र चाखको विरुवा रोपेर ।”
“हिड, जाऊ‘ भाउजू भए ठाउँ । प्रयत्न गरौ‘ं ।”
टी.भी. एकाग्र भएर हेरिरहेकी यशोधरालाई ठूलो स्वरमा कराएर भन्छु— “नमस्कार भाउजू ।”
तिनी झसङ्ग तर्सिन्छिन्, हामीलाई रिसाएको आँखाले हेर्छिन् । तर झट्टै
कृत्रिम मुस्कान अनुहारमा ल्याएर जवाफ दिन्छिन् “नमस्कार । बस्नुहोस् न ।
कतिबेला आउनु भयो ?”
“बिहानै”
“होइन, ठट्टा गर्नुहुन्छ । बिहानै आउनु भएको भए मलाई थाहा भइहाल्थ्यो नि ।”
“बिहानै भन्नाले अहिले तपाई‘ले हेरिरहनु भएको सिरियलमा बिहानै त छ । त्यही भएर बिहानै भनेको नि , भाउजू ।”
“हा .. हा .. हा ... त्यसो हो भने भर्खरै ।” भाउजू साँच्चै मायालु पाराले
हॉस्छिन् । स्त्रीयोचित हाँसो । सायद त्यही हाँसोले राममानलाई पगालेर पानी
पानी पारेको हुँदो हो ।
“ठीक
बुझ्नु भयो ।” म पनि हाँस्छु साथै राममान पनि “हा.. हा.. हा.. ।” हाँसोले
वातावरण सहज बन्छ । टीभी को स्वर तिनी सानो पार्छिन् । हामी कुरा गर्न
थाल्छौ‘ ।
“तपाईँबारे साथी राममान मसँग गुनासो गरिरहेका छन् ।”
“कस्तो गुनासो ? सानो नानी जस्तो पोल सार्दै हुनुहुन्छ ?”
“हो नि । उसलाई वास्तै गर्नु हुन्न रे । खाली सिरियलमै भुलिनुहुन्छ रे .... ।”
“आब्बुई । साँच्चै त्यसै भन्नुहुन्छ ?” उनी राममानलाई हेर्छिन् ।
“हो, मैले दुखेसो पोखेको हुँ ।” राममान स्पष्ट पार्छन् ।
“टी.भी. पनि नहुँदो हो त मैले दिन कसरी काट्ने ? उहाँ रातदिन बाहिर,
छोराछोरी परदेशमा । म एक्लै के गरौँ ?” तिनी टीभी. बन्द गर्छिन् ।
“हो,
भाउजूले ठीक भन्नुभयो । मानिस जन्मजातैले यस्तो प्राणी हो जो केही नगरी
बस्नै सक्तैन । केही न केही गरिरहनु जीवनको निरन्तरता हो, बाँचेको प्रमाण
हो । अहिले चारैजना भेला हुनुभएको छ । मलाई त लागेको थियो, म समेत पाँचैजना
मज्जाले अहिले गफगाफ गरिरहेका हुनेछ‘ौं ।”
“आ
.. नाथे छोराछोरीहरू । ‘आमाबाबुको मन छोराछोरीमाथि, छोराछोरीको मन
ढुङ्गामुडामाथि’ भनेझैँ उनीहरूलाई आमाबुबाको कुनै वास्ता छैन ।” प्याच्च
यशोधरा बोली हाल्छिन् ।
मलाई
पनि हो जस्तै लाग्छ । तर भन्छु “त्यसो भन्नु हुँदैन भाउजू, बुढेसकालको
साहारा । गोपालप्रसाद रिमालले ‘...तर तिमी नै हौला भन्ने मेरो जीवनभरिको
सपना थियो’ भनेझ‘ै छोराछोरीहरू त हाम्रा सपना हुन् । भविष्य हुन् ।”
‘भन्नुहुन्छ नि । देखिहाल्नुभयो त डाक्टर भएका, पढेलेखेका मेरा
छोराछोरीहरूका चालामाला । अनि तपाई‘का छोराहरू चाहिँ के गरिरहेका छन् ?”
“जेठो मजस्तै शिक्षक भएको छ । कान्छो र बुहारी खेती गर्छन् । माइलोका
परिवार मसँग बस्छ । मेरा पनि नातिनातिनीहरू भएका छन् । सावाँभन्दा ब्याजको
माया भनेझै नातिनातिनीहरूको माया अर्कै किसिमको हुँदो रहेछ, अवर्णनीय ।”
“उनीहरूको बोली, व्यवहार पनि हाम्रा छोराछोरीहरूकै जस्तो छ ?”
“मनको वह कसैलाई नकह, म भन्न चाहन्न‘ । युगका उपज हुन् उनीहरू । हामीले
मात्र चाहेर केही हुँदैन । युगले जस्तो पुस्ता तयार गर्न चाहन्छ, त्यस्तै
तयार हुन्छ ।”
“के युग, युग भनिरहनु भएको ?”
“युग भनेको पुस्तापुस्ताले भोगेको समयावधि । हामीले भोगेको बिताएको हाम्रो
पुस्ताको युग । आउने पुस्ताले भोग्ने युग, भावी युग । पुस्तान्तरण...
एकपछि अर्को पुस्तालाई । हाम्रा मातापिताका पालामा आमाबुबालाई बुढेसकालमा
स्याहार्ने जिम्मेवारी छोराछोरीमा हुन्थ्यो । अब पछाडिका पुस्ताका
छोराछोरीले बृद्ध मातापितालाई हेर्नुपर्ने, स्याहार्नुपर्ने अवस्था हुनेछैन
। अहिले हाम्रो पुस्ता भने अन्योलग्रस्त छ ।”
भान्सा कोठाबाट भान्सेनीले इशाराद्वारा खाना तयार भएको सङ्केत दिन्छे ।
यशोधरा भन्छिन्— “एक छिन पर्ख । अँ तपाईँको कुरा पूरा गर्नुहोस् ।”
“म भन्दै थिएँ, हामी बलिदानी पुस्ता । निरङ्कुश शासनले पेल्नसम्म पेल्यो,
पेलिएर, हेपिएर जवानी गुजा¥यौ‘ं । जीवन सङ्घर्ष, विद्रोह र आन्दोलनमा
बित्यो । बुढेसकालमा प्राप्त भएको लोकतान्त्रिक गणतन्त्र संस्थागत भएकै छैन
। यसको फल पनि चाख्न पाइने अवस्था छैन । राजनीतिक व्यवस्थाले नै
मानिसहरूको जीवन पद्धति निर्धारण गर्ने हो । हाम्रो बुढेसकालको बारेमा
राज्यले नीति नै बनाएको छैन ।...”
“राज्य वा सरकार प्रमुख कुरो हो । विकसित देशहरूमा बृद्धभत्ता, बेकारी
भत्ता, अपाङ्ग भत्ता आदि अनेकौं व्यवस्थाहरू हुन्छन् । असक्त, अपाङ्ग,
बृद्ध वा सबै नागरिकहरूको हेरचाह गर्ने जिम्मेवारी राज्यले वहन गरिरहेको
हुन्छ । हाम्रोमा त्यस्तो छैन । त्यस प्रकारको जिम्मेवारी राज्यले वहन
गरोस् भनेर अहिलेको पुस्ताले चर्को आवाज बुलन्द गर्नुपर्ने भएको छ । अबका
छोराछोरीले आफ्ना आमाबुबाको सेवासुश्रुषामा जीवन खर्चिन्छन् भन्ने सोच्नु
मूर्खता हुनेछ । उनीहरू त आफ्नै जीवन धान्नमा र सुख आर्जनमा यति व्यस्त
हुनेछन् कि उनीहरूलाई अरूका बारेमा सोच्ने फुर्सदै हुने छैन । बरु उनीहरूले
गर्न सक्ने भनेको चाहिँ बृद्ध, अपाङ्ग, बेरोजगार र असक्षम नागरिकहरूलाई
हेरचाह गर्ने जिम्मेवारी राज्यको हुनुपर्छ भनेर जोडदार आवाज उठाउने हो ।
प्रत्येक सहर र गाउँहरूमा बाल आश्रम, बृद्धाश्रम र अपाङ्ग आश्रमहरू बनुन्
भनेर दवाब...दवाब दिनु पर्ने हो..|.”
म बोल्दाबोल्दै टक्क रोकिन्छु र सम्झिन्छु— लौ मलाई यो के भएको ? तथाकथित
नेताझै‘ धाराप्रवाह भाषण पो दिन थालेछु । म आफैं लज्जित भएर उनीहरूलाई
हेर्छु, उनीहरू ट्वा परेर मलाई हेरिरहेका हुन्छन् । मैले त्यसरी हेर्दा
उनीहरू हाँस्छन् हा...हा.. हा...। वातावरण सहज बन्छ ।
“ओहो, तपाईंँले भनेअनुसार हुने हो भने त भावी दिनहरूमा आजभोलि सबै
गाउँहरूमा स्कुल, हेल्थपोष्ट, गा.वि.स. भवन आदि रहेझै‘ प्रत्येक सहर र
गाउँहरूमा बाल आश्रम, बृद्धाश्रम र अपाङ्ग आश्रमहरू बन्नेछन् । त्यहाँ नयाँ
सिर्जना र रचनाहरू प्रस्फुटित हुन थाल्नेछन् ...कस्तो सुन्दर परिकल्पना !
त्यस्तो बृद्धाश्रम बने त हामी पनि त्यही बस्थ्यौँ, छोराछोरीले पनि वृद्ध
आमाबाबु हेर्न परेन । आमाबाबुलाई पनि छोराछोरीले हेर्छन्, हेर्दैनन् भन्ने
चिन्ता हुँदैन ।” यशोधरा मनको कुरो भन्छिन् ।
उनको भन्ने तरिका ठट्यौली र रमाइलोपनले ओतप्रोत हुन्छ । उनको अनुहारमा झलमल्ल उज्यालो देखिन्छ ।

Comments
Post a Comment