प्याजी फूल

  प्याजी फूल



प्याजी  फूल कुनै  फूलको नाम होइन । जरामा प्याजको जस्तो गाना हुने र  फूल पनि प्याज रङ्गको हुने भएकोले प्याजी  फूल भनेको हुँ । प्याजी  फूलकै बारेमा म किन कुरा गरिरहेको छु भने यो फूलसँग मेरो जीवन कहानी गाँसिएको छ । संयोग नै भनौँ मलाई जब  फूल चाहिन्छ, यो प्याजी  फूल नै  उपलब्ध भएको हुन्छ ।


मेरो पहिलो अव्यक्त अमूर्त प्रेम पनि प्याजी  फूल दिएरै मैले व्यक्त गर्न खोजेको थिएँ । भलै त्यो एकतर्फी प्रेम पूर्ण हुन सकेन । तापनि त्यो मेरो केटीप्रतिको पहिलो आकर्षण एवं माया देखाउने र पाउने पहिलो प्रयास थियो । मेरो मायालु बनाउने पहिलो आकाङ्क्षा प्याजी  फूलमार्फत व्यक्त गर्न पुगेको थिएँ । त्यो क्षण कहिल्यै मेरो मानसपटबाट मेटिन सकेन, अमिट भएर बसेको छ ।


मनरानी मलाई असाध्यै मन पथ्र्यो । उसलाई म मेरो मनकै रानी सम्झन्थे र उसैसँग मनमनै प्रेम गर्थे । प्रेम सायद मनकै अनुभूति होला । आँखामा ऊ बसेकी थिई, मनभित्र छिरेकी थिई । हृदयमा सिंहासन हुन्छ भने त्यतिबेला ऊ नै त्यहाँ बसेकी थिई । मनरानीको मनराजा म आफूलाई सम्झिरहेको थिएँ । थाहै नपाई प्रेमको अतुल गहिराईभित्र म डुबेको थिएँ । हरपल उसको छवि मनभित्र हुन्थ्यो, हरक्षण म उसलाई सम्झिरहेको हुन्थेँ । सम्झिरहन्थे ऊ मेरी हो, मेरी हुनु पर्छ । उसलाई प्रभावित पार्न जे पनि गर्न तयार थिएँ र गरिरहेको हुन्थेँ ।


एक दिन स्कुलबाट फर्किरहेकी उसलाई बाटोमा छेकेर मैले भनेको थिएँ—‘मनरानी, तिमीलाई फूल मन पर्छ ?’
‘कसलाई फूल मन पर्दैन र !’ उसले मुस्कुराएर भनेकी थिई ।


उसको त्यस्तो मुस्कान मलाई घायल बनाउन पर्याप्त थियो । म त मजनु भइहालेँ । यताउता हेरेँ, फुल कहाँ पाउनु तत्कालै । तर पहाडी बाटोको डिलमा प्याजी फूल फुलिरहेको थियो । हत्तपत्त एउटा प्याजी फूल टिपेर दिँदै भने, ‘मनरानी यो  फूल...।’ त्यसभन्दा बढी अरु केही भन्न सकिनँ ।


‘फूल !?’ उसले फूल समाती र सरासर आफ्नो बाटो लागी ।

फूल त दिएँ तर फूलसँगै भन्नुपर्ने मेरो कुरा, प्रेमको कुरा अथवा मायाको कुरा भन्न नसकेकोमा जीवनपर्यन्त पछुताइरहेको छु । प्रेम प्रकट गर्न चाहन्थँे तर मेरो अल्लारेपन । ठिटौलोपन प्रेमका कुरा भन्न सकिनँ । आफूतिर उसलाई आकर्षित पारेर प्रेम मायामा पूर्ण रूपमा भिज्न चाहन्थे, सकिनँ । म सुख्खा धरती नै रहि रहेँ । मायाको झरीले भिज्न नसकेको सुख्खा धरती ! सुख्खा जीवन !!


त्यसपछि पनि मनरानीलाई पाउने केही प्रयत्नहरू नगरेको होइन तर ती प्रयत्नहरू परिणाममुखी भएनन् । म उपयुक्त अवसर खोजीरहेको हुन्थे । आशा मनभित्र बलवान भएर बसेको हुन्थ्यो ।

 तर मनरानीले एसएलसी परीक्षा दिनासाथ उसको विवाह लाहुरेसँग भयो ।

 मैले पाउन चाहेको जून बिलायो, पहिलो प्रेम प्रकट गर्न नपाउदै धुलोपिठो भयो । त्यतिबेला म अत्यन्त रिक्तताको गहिराइभित्र खसेँ । मलाई संसार शून्य लाग्न थालेको थियो, जीवन एकदमै खल्लो । म रोएँ पनि एकान्तमा तर रोएररोएर आफैले आफूलाई सम्भाल्नु बाहेक मसँग अर्को बिकल्प थिएन । एकान्तमा धेरैधेरै रोएर मैले  मनरानीलाई भुल्ने प्रयत्न गरेँ, भुलेँ पनि निक्कै । तर पूरा भुल्न सकिनँ । ऊ मेरो स्वप्न सुन्दरी भएर मेरो जीवनभर झुल्कि रही । ऊभन्दा सुन्दरी अर्को युवती मैले देख्नै सकिनँ । उसलाई जसरी मैले फेरि अर्की केटीलाई मन पराउनै सकिनँ । हाय, यो मेरो मन ! म आफै आश्चर्यचकित छु । यो मन बुद्धीले चल्दैन भने केले चल्छ ? मैले विवेक पु¥याएर अनेक सम्झाउन खोज्दा पनि ऊ आफ्नो ढिपीमा अडि नै रहेको छ । ऊ मनरानीभन्दा सुन्दर केटीहरू हुन्छन् भनेर मान्न चाहदैन  र अरु केटीहरूप्रति आकर्षित हुन मान्दैन ।


त्यसपछि मलाई केटीहरूसित विकर्षण पैदा भएछ कि ! मेरा अनगिन्ती केटी साथीहरू भए । कलेजमा पढ्दा कैयौँ केटीहरू मलाई आफ्नो प्रेमी बनाउन चाहन्थे । त्यस्तो सङ्केत गर्नेहरू थुप्रै थिए । पार्टीमा काम गर्दा त कैयौँ युवतीहरूले विवाहकै प्रस्ताव राखे । साथीहरूले विवाह गर्ने सुझाव कति दिए, कति दिए । तर म ढुङ्गा भएछु, मेरो मन ढुङ्गा भएछ । नौनीजस्तो मन जमेरजमेर, सुकेरसुकेर, ढडेरढडेर अनुभूतिहीन फलाम भएछ । प्रेममा पग्लनै नसक्ने जड भएछ । होला र त मैले अरु कुनै केटीलाई हेर्दै हेरीनँ, नहेरेपछि मन पराउने, प्रेम गर्ने कुरा भएन ।


बिद्यार्थी राजनीतिमा म एकसुरे भएर होमिएँ । जनता, राष्ट्र, मुक्ति र राजनैतिक सिद्धान्तहरूमा मैले आफूलाई यति धेरै तल्लिन गराएँ कि मैले अर्को पटक केटीसित प्रेमको कल्पना समेत गरीनँ । बिद्यार्थी नेता भएँ म । सैद्धान्तिक पुस्तकका ठेलीहरू पढिरहन्थे । साहित्य पनि म अध्ययन गर्थे तर म साहित्यलाई स्वतन्त्र हिसाबले अध्ययन गर्दिनथेँ । राजनीतिको  दासीको रूपमा साहित्य अध्ययन गर्थे र साहित्यमा वर्णन गरिएका प्रेमका कुराहरूले मलाई गहिराइसम्म प्रभावित पार्न सत्तैmनथे । प्रेमले अथवा मायाले मलाई गाल्दै गालेन । 


जीवन मेरो एकलकाटे भइसकेको थियो । 


क्रान्ति, मुक्ति, त्याग, बलिदान, सङ्घर्ष... म पुरै  राजनीतिमा निर्लिप्त भइसकेको थिएँ । बिद्यार्थी नेता म परीक्षामा फेल भएर मेरा पिछलग्गु कार्यकर्ताहरूभन्दा पछि पर्नु पर्ला भनेर पाठ्यसामग्रीहरू पनि अत्यन्त मिहिनत गरेर पढ्थे । परीक्षामा म सदैव राम्रो अङ्क ल्याएर उत्तीर्ण भइरहेको पनि थिएँ । पढाई सकेपछि नोकरी खाएर बस्नुको सट्टा भूमिगत राजनीतिमा सक्रिय हुँदै क्रान्ति गर्नका लागि जङ्गलतर्पm पसेँ । दस वर्षको अवधि कहिले कहाँ, कहिले कहाँ ? तालिम, प्रशिक्षण, शारिरीक व्यायाम, कडा अनुशासन, परेड, आक्रमण, प्रत्याक्रमण, कुदिकुदाई  अनि कुनै पनि बेला दुस्मनहरूद्वारा मारिन सक्ने अवस्था । प्रेम र विवाहबारे सोच्ने कुरा भएन । 
 प्रेम भनेको शारीरिक सम्पर्क होइन । भोक लागेको बेला खाएझैँ त्यो आवश्यकता पूरा गर्दा प्रेम हुन्छ भन्ने होइन । प्रेम त यस्तो पवित्र भावनात्मक मानसिक उद्वेग, संवेग, अनुभूति, त्याग, समर्पण, एकअर्कामा विलयन र उत्कृष्ट मोक्षको स्थिति होला कि त्यो कहाँ जहाँसुकै र जोसुकैले प्राप्त गर्न सक्छन् र !


अझ मेरो हृदयमा त मनरानी बसिसकेकी थिई । मनरानी अर्काकी भए पनि उसले ओगटेको हृदयभित्रको स्थान रिक्त भएन । त्यहाँ अरु कसैलाई मैले स्थापित गर्नै सकिनँ । अरु कसैले त्यो स्थान ग्रहण गर्नै सकेनन् । उसले उद्वेलित गरेकी प्रेम भाव र भावना अरु कसैले फेरि पक्रनै सकेनन् । कोपिलामै झरेको प्रेमपूmल फेरि फक्रनै सकेन ।
प्रेमको भ्रममा परेकी सुलोचनाको मृत्युमा पनि मैले यही प्याजी पूmल उसको चिहानमा चढाएको थिएँ । उसको मृत्यु भएको चौकी आक्रमणको त्यो दृष्य अझै मेरो मानसपटमा चलचित्रझैँ स्पष्ट आइरहेको छ ।


चौकी आक्रमणको लागि हामी पूरा तयारीका साथ अगाडि बढिरहेका थियौँ । मिलिसियाको नेतृत्वमा अगाडि अगाडि ठुलो गाँउले मानव समुदायको भीड माइकमा आत्म समर्पण गर्ने चेतावनी फलाक्दै हल्ला होहल्ला गर्दै बढिरहेको थियो । त्यसपछिका पंङ्क्तिमा जनयुद्धका योद्धाहरू पूरा तयारीका साथ घेरा बनाएर बढिरहेका थियौँ । अन्तिममा डोको बोकेका भरियाहरू कोदालो, झम्पल, फरुवा आदि सामानहरू बोकेर हिडिरहेका थिए । तिनीहरूकै साथमा केही डाक्टर, स्वास्थ सहायक र औषधि टोली पनि हिडिरहेका थिए ।


आत्मसमर्पणको चेतावनी सुनेर पनि प्रहरीहरूले आत्म समर्पण गरेनन् । उनीहरूले  फायरिङ्ग गर्न थालेका थिए । हामी जनयोद्धाहरूले चारैतिरबाट फायरिङ्ग गर्दै चौकी घेरिसकेका थियौँ । रातको अन्धकारमा भेरी सर्च लाइटको उज्यालोमा हामीले उनीहरूमाथि गोली र बमबारीको बर्षा गरायौँ । प्रत्युत्तरमा उनीहरूले पनि गोलीको वर्षा गराए । मसँगै साथमा रहेकी सुलोचना सुरी भएर गोली हानी रहेकी थिई । उसको छातीमा गोली लागेछ, ‘ऐया’ कराएर ढली । उसलाई जुन गोली लागेको थियो त्यो गोली उसले आफ्नो छातीमा थापेर मलाई नछलेकी भए मेरो छातीमा लाग्ने थियो र म ठहरै हुने थिएँ । उसले आपूm मरेर मलाई बचाई । धन्य सुलोचना ! 


सुलोचनासँगै हाम्रा तिस जना योद्धाहरूले सहादत प्रप्त गरे । शत्रुपक्षका ९८जना मरे । बाँकी रहेका  दुस्मनका जवानहरूले आत्मसमर्पण गरे । त्यो चौकी हामीले जित्यौँ । ठूलो परिमाणमा बन्दुक र गोलीगठ्ठा कब्जा गर्न सफल भयौँ । त्यो सबै लिएर फर्किने क्रममा गाँउले र मिलिसियाहरूले खनेको खाल्डोमा सुलोचना लगायत अरु मरेकाहरूलाई गाड्यो । सुलोचना मसँग अत्यन्त नजिक झ्याम्मिएकी थिई । ऊ सम्झिन्थी म उसलाई प्रेम गर्छु र अत्यन्त उत्साहित भएर सम्बन्ध राख्थी । म पनि उसलाई प्रेम गरेझैँ  गर्थे तर मेरो रुखो सुख्खा मन कसैलाई प्रेम गर्न सक्तैनथ्यो ।  तापनि मेरो मन उसको मृत्युमा रोइरहेको थियो । म ऊ गाडिएको चिहानमा पूmल चढाउन चाहन्थे । पूmल कहाँ पाउनु र ! यताउता खोज्दा प्याजी पूmल भेटेँ । त्यही प्याजी पूmल भावुकताकासाथ उसको चिहानमा चढाएँ र भनेँ, ‘अलबिदा सुलोचना ! अलबिदा !!’


सुलोचनाको त्यागले प्रेम कति शक्तिशाली हुन्छ जसको प्रेरणाले मानिस आत्म त्याग गर्नसमेत पछि पर्दैन भन्ने मलाई बोध गरायो । उसको मृत्युले मलाई नमिठो पीडा दिइरहेको थियो र त्यो पीडा बिर्सन केही दिनको बिदा लिएर दुई जना साथी लिएर म घरतर्पm गएँ । घरमा मेरा वृद्ध आमा बुबा र एकजना बहिनी थिए । दाजु भाउजु पल्टनमा थिए । मलाई देख्ता आमा खुसी हुनुभयो तर उहाँको खुसी अचानक आँसुमा रूपान्तरण भयो । 
‘माने, कहाँ थिइस् ? हामीलाई कसरी चटक्कै बिर्सिन सकिस् ?’ 


‘आमा, बिर्सेको छुइनँ । म देश र जनताको लागि क्रान्तिमा लागेको छु । क्रािन्त सफल हुनासाथ तपाईँहरूको सेवामा हाजिर हुनेछु ।’ आमालाई जवाफ दिन त दिएँ तर म पनि भित्रभित्रै रोइरहेको थिएँ ।


बुबा बिरामी हुनुहुन्थ्यो । उठेर बस्ने र बात मार्ने कोसिस गरिरहनु भएको थियो । केही तिता मिठा कुरा भए । लुक्दै आएको म त्यहाँ उहाँहरूको सेवा गरेर बस्न सक्ने अवस्थै थिएन । सुराकीहरूले थाहा पाए भने पकडाउ परेर ज्यानै जान्थ्यो । मेरो मात्र ज्यान जाने होइन, आमा बुबाले पनि यातनाको सिकार बन्नु पथ्र्यो । झिसमिसे बिहानैमा बिदा भएर हामी जङ्गलतर्फ फर्कियौँ । मेरो मन सशंकित भइरहेको थियो फेरि भेट होला ?
केही दिनमै सुनेँ, मलाई खोज्दै आएको दुस्मनहरूले मेरो बिरामी पिता र आमालाई हुनसम्म यातना दिए । अमानुषिक यातना खप्न नसकेर उहाँहरू दुवैजनाको प्राण गयो । मैले रिसले मुठ्ठी कसेँ ।  बदला लिनका निम्ति हाम्रो सम्पूर्ण सैनिक शक्ति परिचालन गरेर त्यस क्षेत्रमा सैनिक अभियान चलायौँ । दुस्मनहरू पछाडि हट्दै भागे । गाँउ हामीले कब्जा ग¥यौँ । मैले आमाबुबाको शव गाडेको ठाँउ पत्ता लगाएँ । उहाँहरूप्रति श्रद्धाको पूmल म चढाउन चाहन्थेँ । तर सबै पूmलहरू दुस्मनको सैनिक बुटले कुल्चेर नाश भइसकेका थिए । टाढा जङ्गलमा केही प्याजी पूmल फुलिरहेका थिए । मैले मेरो आमाबुबाको समाधिमा पनि आँसुका थोपाहरूका साथ यही प्याजी फूल चढाएँ ।


संसदवादी दलहरूसँग दिल्लीमा बाह्रबुँदे समझदारी भएपछि जनआन्दोलनले सफलता पायो । निरंकुश व्यवस्था ढल्यो । जङ्गलमा बसेर जनयुद्ध गरिरहेका हामी मुक्ति योद्धाहरूले पनि शान्तिपूर्ण जनजीवनमा पदार्पण गर्ने मौका पायौँ । संबिधान सभाको चुनावमा म पनि उम्मेदवार भएर विजयी भएँ । सपनाजस्तै म पनि पहिलो पङ्क्तिको नेता भएछु । मन्त्री भएर राज्य सञ्चालन गर्ने ठूलै मानिस भएछु ।


शक्तिले मानिसमा अहङ्कार पैदा नगर्ने कुरै भएन । शक्ति उन्मादसँगै म पनि विलासी जीवनसँग अभ्यस्त हुँदै गएँ । विलासी जीवनका लागि भौतिक सामग्रीहरू जोड्दै लगेँ । बैङ्क ब्यालेन्स बढ्दै गयो । हिजो अङ्गिकार गरेको सैद्धान्तिक कुराहरू थोत्रिन थाले । कहाँ सर्वहाराको अधिनायकत्वको जनवादको लागि लड्ने हामी पुरै पूँजीवादको दास भएछौँ थाहै नपाई । होइन थाहै पाएर हामी त्यतैतिर लहसिदै गएछौँ । हिजोको हाम्रो क्रान्तिकारी त्यागी छविमा धमिलोपन लाग्न थालेछ र हामी घृणित बन्दै गएछौँ ।


फेरि भएको चुनावमा मलगायत थुप्रै हाम्रा उम्मेदवारहरू हारे । हारीसकेपछि पो हाम्रा आँखा खुले । हामीले बाटो बिराइसकेका थियौँ । हामीसित सिद्धान्त थिएन । जनतालाई मुक्त गरेर सम्पन्नता र सुख दिने भनेर हामीले बाडेको सपना तुहिसकेको थियो । चुनाव हारेर शक्तिको घेराबाट निकालिएपछि म पनि झल्यास्स भएँ । मसित सम्पत्ति बाहेक केही बाँकि थिएन । प्रौढावस्था आइसकेको थियो । मेरो आमा बुबा छैनन् । दाजु भाउजुको आफ्नो परिवार छ त्यो मेरो होइन । तन्नेरीकाल समाप्त भइसकेको म परिवारविहीन रित्तो रहेछु । तुच्छ सम्पत्तिका लागि मेरो जीवनको उच्च आदर्श, सिद्धान्त, मूल्य, मान्यता, त्याग, बलिदान, सङ्घर्ष र गन्तव्यको उत्कर्ष समाप्त भएको पाउँदा म यति धेरै विचलित भएँ कि झण्डै झण्डै विक्षिप्त हुन्छु कि भन्दै डराउन थालेको थिएँ ।


जीवनको सुनौलो अवधि समाप्त भइसकेको थियो । साँचो प्रेम मैले न कसैलाई गर्न सकेँ, न मैले नै पाउन सकेँ । राजनीति पनि पवित्र, कञ्चन, जनप्रिय र जनसमर्थित रहेन । फोहोरी राजनीतिमा म र मेरा साथीहरू चुर्लुम्मै डुबी सकेका थियौँ । फोहोरी राजनीतिको गोटि भइसकेका हामीहरूलाई जनताले चुनावमा हराएर गतिलो झापड हानेका थिए । तर हामी धाँधली भयो भन्दै आफ्नो नाक जोगाउने कोसिसमा लागेका थियौँ । शक्ति हातबाट चिप्लेर गएपछि मलाई पनि फुर्सद भयो— जीवनलाई फर्केर हेर्ने, नियाल्ने र मूल्याङ्कन गर्ने ।


मैले मेरो जीवनलाई आफ्नै जीद्दीपन र उडण्दताले खोक्रो बनाएको रहेछु । मनरानी के मेरी थिई र ? ऊ मेरी थिइन र मेरी भइन । मनरानी मेरी नभए पछि मैले उसलाई बिर्सेर अर्की मनकी रानी खोज्नु पथ्र्यो । होइन र ?


मनरानी मेरी हुन नसकेपछि पनि उसलाई मैले मनबाट निकालेर फाल्न सकिनँ । उसलाई भुल्नकै लागि राजनीतिमा होमिएँ, क्रान्तिमा होमिएँ । शक्तिमा पुगेको बेला विलासितामा रौसिएँ । कैयौ तनरानीहरूलाई किचीमिची पारेँ । तर ती हरेक दिनहरूमा पनि  मनरानीबारे र उसको जीवनबारे सबै कुराहरूको जानकारी राखिरहेको थिएँ ।
मनरानी साङ्केनसँग विवाह भएपछि पल्टन गई । पल्टनमा लाहुरेनीहरूको  कामै के हुन्थ्यो र ! छोराछोरी जन्माउने मेसिनजस्तै उसले पनि दुईवटा छोरा र एउटी छोरी पाई । उसले पति पाई, छोराछोरीहरू पाई । मानिसहरूले ‘देश पनि हेरी, मुख पनि फेरी’ भने पनि उसले प्रेम पाउन सकिन । साङ्केन रक्स्याहा र झगडालु पति थियो । रातदिन मातेर उसलाई कुट्पिट गथ्र्यो । माया प्रेम नपाएकी अभागी ऊ मभन्दा पनि दयाकी पात्र थिई ।

 
उनीहरू एकपल्ट छुट्टीमा घर आउँदा हाम्रो भेट भएको थियो । मनरानीको निधाउरो अनुहारमा उदास उत्साहहीन आँखाहरू, दुब्लो देह, ठिटलाग्दी देखिएकी उसलाई देख्दा मभित्र दुःखको एकप्रकारको सुस्केराको ज्वाला दन्केको थियो । उसले मलाई उसको पतिकै सामु एउटा ‘टाइटस’ हाते घडि उपहार दिएकी थिई । मैले दिएको प्याजी पूmलको अर्थ उसले बुझेकी थिई कि ! प्याजी पूmललाई हाते घडीसँग फर्काएकी थिई ।


प्रेम नपाउने मानिस अभागी हुन्छ । त्यो भन्दा अभागी प्रेम गर्न नसक्ने मानिस हुन्छ । म सानैदेखि अभागी थिएँ । मेरो बुबाको दबदबामुनि आमा चाउरिएर बस्नु भएको थियो । आमाले चाहँदाचाहँदै पनि हामी छोराछारीहरूलाई भरपुर माया दिन सक्नु भएन । माया प्रेम नपाएका हामीहरू निष्ठुरी मन लिएर हुर्कियौँ । माया प्रेम नपाएको मानिस निष्ठुरी हुनुकासाथै निकृष्ट पनि हुँदो रहेछ ।
म आपूmलाई असल मानिसहरूको पङ्क्तिमा राख्न सक्तिनँ । म अरुलाई प्रेम गर्न सक्तिनँ । अरुलाई प्रेम गर्न नसक्नेले आपूmलाई पनि प्रेम गर्न नसक्तो रहेछ । र त  मैले मलाई प्रेम गर्न चाहने युवतीहरूलाई कहिल्यै प्रेमसाथ स्वीकार गर्न सकिनँ । कोही एकजना युवतीलाई स्वीकारेको भए मेरो जीवनको रूपरङ र ढङ  अलिक मायालु हुन्थ्यो कि ! मनरानीलाई झुक्किएर एकतर्फी प्रेम गरेँ, अरुलाई झुक्किएर पनि प्रेम गर्न सकिनँ र म कठोर, निर्दयी र निकृष्ट भएँ ।
म बिद्यार्थी नेता हुँदा बिरोधीहरूलाई कति हेय दृष्टिले हेर्थे र निकृष्ट प्रहार गर्थे । मैले कुट्नै नहुने कति बिद्यार्थी नेताहरूलाई कुटेरपिटेरै तह लगाएँ । क्रान्तिकारी भएको बेला  निकृष्ट पाराले बन्दुकको दुरुपयोग गरेँ । मार्नै नपर्ने निर्दोष मानिसहरूलाई सुराकी, सामन्ती भन्दै मज्जा लिई लिई निर्दयतासाथ अमानवीय यातना दिँदै मारेँ । किन म यसरी क्रुर हुन सकेँ हुँला ?


मन्त्री हुँदा मैले कर्मचारीहरूलाई मान्छे नै गनिनँ । आफ्नो सनकअनुसार अनेकौँ दुःख दिएँ । पैसा कमाएँ तर मैले मानिसहरूको माया, प्रेम र श्रद्धा कमाउनै सकिनँ । प्रेमको अभावमा प्रेमको काकाकुल भएरै बाँचिरहेको छु । अब त समय बितिसकेको छ । जीवनको अन्तिम कालखण्ड नजिक आइरहेको छ । जीवन अवसानतर्फ धकेलिदै छ । मर्नुभन्दा अगाडि एकपल्ट प्रेम उपभोग गर्न पाऊँ । प्रेम गर्न सकूँ म चाहन्छु । मनरानी र मेरो जीवनको तुलना गर्छु । मभन्दा बढी ऊ दुःखी छे । शारीरिक सुख प्रेम हुँदै होइन ।  ऊसँग पति थियो, छोराछोरी छन् तर उसको कुनै प्रेम संसार छैन ।


पति रक्स्याहा भएर रोगी भई मरिसकेको छ । छोराहरूमध्ये जेठो छोरो जोइटिङ्ग्रे भएछ । स्वास्नीको फरियामा गट्मुुटिएर् आमालाई हेला गर्दोरहेछ । कान्छो छोरा दुव्र्यसनी भएर अकाल मृत्युको सिकार भइसकेको छ । छोरी ज्वाइँको घर गइहाली । ऊ एक्ली छे, बिचरी एक्ली छे ! म उसलाई अझै माया गर्छु कि क्या हो ! मानिस आफ्नो सानो नीजि तुष्टिकै लागि मरिमेट्ने क्षुद्र प्राणी हो कि ! जिद्धी मन, मन बुझाउन नसक्नु जीवनको कमजोरी ! मनकै पछि कुद्दा कुद्दा पनि मन बुझाउन सकिएन । जीवन खेल सम्झ्यो कि पापी मनले । र त मसँग जीवनले पनि नमीठो खेल खेलेर सकिन लाग्यो । अझै मन बुझाउने अन्तिम प्रयास....म मनरानीलाई सुखको सानो स्वादको अंश दिन चाहन्छु । म पनि प्रेमको सानो स्वादको अंश चाख्न चाहन्छु । त्यसका लागि यो उमेरमा पनि म जे पनि गर्न सक्छु— सोचिरहन्छु ।


मैले मनरानीलाई आकाश पाताल देखाएर फकाएँ । हुन त ऊ र म दुवैलाई बुढेशकालले पूरै छोपेको भए पनि एउटै छानामुनि दम्पति भएर ओत लागेर शेष जीवनमा ‘ एक बारको जुनी ! प्रेम मायाको स्वाद चाखौँ..’ भनेर अनुनय गरेँ । उसले मानी र अहिले हामी दुई आपूm राजीखुसी बिना कुनै विवाहको रीतिरिवाज विवाह बन्धनमा बाँधिन गइरहेका छौँ ।


यस उपलक्ष्यमा म उसलाई फूल उपहार दिन चाहन्छु । बेमौसम भएकोले अन्य सुन्दर रङ्गीचङ्गी फूलहरू फुलेका छैनन् । बेमौसम र सुख्खामा पनि एउटा प्याजी पूmल फुलेको छ । त्यही प्याजी फूल म ऊ मेरी बेहुलीलाई बेउलाको प्रेम उपहार दिईरहेको छु ।  फूल समातेर ऊ थोते स्वर्णिम मुस्कान मुस्कुराउँछे । म त्यही मुस्कानमा अलौकिक सुन्दर प्रेम संसार पाउछु । हामी त्यही प्रेम संसारमा शेष जीवन रमाउन चाहन्छोैँ । प्रेमको स्वाद चाख्न चाहन्छौँ । मनको अधुरो धोको पु¥याउन चाहन्छौँ ।
जीवन सपनाको रमाइलो !


अझै मलाइँ लागिरहेको छ जीवन सपनाजस्तै छ । सपनाको प्राप्ति यथार्थ होइन, वास्तविकता होइन तापनि सपना देख्नु मानिसको नैसर्गिक स्वभाव हो । र... सपना देख्न पाउनु पर्छ ।

 

*** 



Comments

Popular posts from this blog

विस्थापित मुटु

फुली