सहिद परिवार
(कथा)
सहिद परिवार
सरण राई
सबै किसानको जस्तै मेरो अवस्था छ । झन् यसपाली त अनेकौँ विपत्तिमाथि आपत्ति थपिएको छ । म अथाह पीडाभित्र डुबी रहेको छु । किसानको पीडा जब उसको खेती बाझो हुन्छ, त्यो भन्दा पीडादायी अवस्था अरू के हुन सक्ला ? खेती उठाउने सामथ्र्य मसित रहेन । जोत्ने गोरु छैन । मेरो हरेक खेती किसानीका कामहरूमा साथ दिने जीवन साथी, अर्धाङ्गीनी, प्यारी पत्नी ‘प्यारालाइसिस’ भएर ओछ्यानमा लडिरहेकी छे । उसलाई स्याहार्दा स्याहार्दै मेरा दिन रात बितिरहेका छन् । म एक्लै खेती उठाउन सक्छु जस्तो लाग्दैन ।
दुइ छोरा, एक छोरी र हामी पति पत्नी पाँच जनाको अत्यन्त सुखी परिवार थियो । आफ्नै पाखुरी बजाएर आनन्दसाथ जीवन गुजारा गरि रहेका थियौँ । आँधि पेट खाएर पनि सन्तोष मानि रहेका थियौँ । बाँच्नु प्रकृतिको असीम कृपा सम्झेका थियौँ । भोकभोकै दिन काट्ने गरिबहरूका अवस्था हेरी हामी राम्रै हालतमा थियौँ ।
‘राज्य कहाँ छ ? राज्यसत्ता के हो ? कसरी शोषणको माध्यम भएको छ पुरानो सत्ता ?’ एकदिन गाउँमा बिद्रोहीहरू आए र यस्ता अनेकौँ कुराहरू गर्न थाले । ‘भोकले मर्नुभन्दा जनमुक्तिका लागि जनयुद्धमा मर्नु जाति हो’, भने । ‘राज्यसत्ता बन्दुकको नालबाट जन्मन्छ’, भने उनीहरूले र मागे बन्दुक बोकेर लड्न सक्ने हाम्रा जवान छोरा वा छोरी । गाउँका अन्य युवाहरूसँग मेरो जेठा छोरा पनि गयो जसलाई उनीहरू ‘सुमन’ उपनामले बोलाउँथे ।
त्यतिबेला सुनिन्थ्यो, सेना र बिद्रोहीहरूबीच घमासान युद्ध भइ रहेको छ । युद्धमा यति सेना मारिए, यति बिद्रोही मारिए । थुप्रै निर्दोष, निहत्था मानिसहरू पनि अनाहकमा मारिए । प्रतिदिन मृत्यु, हिंसा, ध्वंस र विनासका खबरहरू मात्र सुनिन्थ्यो । त्यस्तो बेला ‘सुमन’ के गरिरहेको होला ? आमा र म कल्पि रहन्थ्यौँ, ‘छोराको शुभ समाचार’ सुन्न पाइयोस् ।
सेना आएर अनेकौँ सोधपुछ, केरकार, हप्किदप्की, कुटपिट र यातनाहरू दिन्थ्यो । सहन्थ्यौँ । एक पटक त गाउँको पुछारको एकान्त स्थलमा लगेर बन्दुकले ताक्दै ‘मार्छौँ’ भने । ‘यो जुनी यति नै रहेछ’ भन्ने सोच्यौँ । निहत्था किसान हामी के गर्न सक्थ्यौँ र ? मार्छन् भने मर्न तयार भयौँ । हामीलाई नै छोरा कहाँ छ ? थाहा थिएन, कसरी देखाउने ? उनीहरूले गर्नसम्म गरे, मार्न चाहीँ मारेनन् । अधमरो, कुटाइले थिल्थिलो शरीर, शरीरभन्दा बढी दुखेको मन लिएर हामी अर्धबेहोस अवस्थामा घर फक्र्यौँ । बाँच्न त बाँच्यौँ तर सधँै मनभित्र सन्ताप, त्रास र वेदनाको राँको बोकेर त्रसित त्रसित ।
सुन्यौँ— गाउँको धनीमानी जमिन्दारलाई सुराकीको आरोप लगाएर बिद्रोहीहरूले मारे । दुःख लाग्यो, त्यसरी मारी हाल्नु त नहुने हो । त्यतिबेला मान्छे मार्नु र मारिनु सामान्य कुरा भएको थियो ।
किसान हौँ, हामी खेती छाड्न सक्तैनथ्यौँ । खेती गर्नै पथ्र्यौ, गरि नै रह्यौँ । मन कहिल्यै ढुक्क हुन सकेन । कहिले सेना आउने हो ? दुःख दिने हो । कहिले छोरा मारिएको खबर आउने हो ? बिचरी मेरी मायालु जीवन सङ्गीनी रूपा दिन प्रति दिन दुब्ली, निन्याउरी, शोक विह्वल र निराश हुन थाली । हँसिली, फस्र्याइली, तन्दुरुस्त, स्वस्थ आईमाई रोगी र नियास्री हुन थाली ।
मान्छेको जीवनै के रहेछ र ? कतिबेला फुस्स प्राण जाने हो ? नहरको डिलको चौबाटोमा हरिकृष्णे साइकल मरम्मत पसल खोलेर रामै्र आम्दानी गरि रहेको थियो । साथमा त्यसैको छेउमा चिया पसल थापेर उसकी पत्नीले पनि थप आम्दानी गरि रहेकी थिई । खेतीको आम्दानीमा यी अतिरिक्त आम्दानी थपिँदा उनीहरूको जीवनस्तर उकासिँदै थियो । छोराछोरीहरू बोर्डिङ्ग स्कुल पढ्न थालेका थिए । हरिकृष्णे जस्तो एउटा किसानले गरेको प्रगतिले मलाई पनि प्रेरणा दिइ रहेको थियो । थप आम्दानीको लागि म पनि त्यस्तै केही गर्ने विचार गरि रहेको थिएँ । सुन्छु, उसलाई बिरामी भएर सहरको ठूलो अस्पतालमा लगियो, उपचारमा निकै खर्च लाग्यो रे र ऊ सोधिरहन्थ्यो रे, ‘कति खर्च लाग्दै छ ?’
‘अलि कति थोरै’ पत्नीले उसलाई धेरै भइरहेको उपचार खर्च नदेखाई ढाँटिरहेकी थिई । तैपनि ऊ भनी रहन्थ्यो ‘मलाई घरै फर्काऊ, उपचारमा धेरै खर्च नगर । दुःख गरी कमाएको पैसा म आफ्नो उपचारमा सक्न चाहन्नँ । त्यो पैसा तिमीहरूलाई भविष्यमा काम लाग्छ ।’
ऊ आपूmले दुःख गरी कमाएको पैसा परिवारको लागि साँच्न चाहन्थ्यो । तर पत्नीले लोग्ने नै सबैथोक हो भन्ने सोचेर औषधि उपचारमा सक्दो हुँदो खर्च गरी तर हरिकृष्णे बाँचेन । बिरामी हुनुभन्दा केही महिना अगाडिदेखि ऊ निकै रक्सी खाने र खुवाउने भएको थियो । अधवैशै उमेरमा नै आपूmले कमाएको पैसा उपचारमा सिद्धाएर म¥यो रे ।
मान्छेको पूmस्सा जीवन ! रूपालाई पनि केही भयो भने ... सायद म पनि बाँच्न सक्तिनँ । उमेर पाको भएपछि ठिटाठिटीहरूसँग कुरा मिल्दैन । आफ्ना दौतेरीहरू को कता, को कता, के केमा अल्मलि रहेका हुन्छन्, भेटघाट हुँदैन । साथीहरूले छाड्दै गएका छन् । म एक्लो हुँदै गइरहेको छु । यो एक्लोपनमा ऊ छे भने मलाई अरू कोही चाहिदैन । ऊ छे भने म आपूm पूर्ण भएको अनुभव गर्छु । मेरो साथी, शुभेच्छुक, सहारा, समर्थक वा सबथोक उही छे ।
रूपालाई अस्पताल जचाउँन लानै प¥यो भन्ने सोचि रहेको थिएँ । सधैँ खर्चको अभाव । एक बेलुकी दुई जना मानिसहरू आए, हतार हतार एउटा झोला दिएर गए । उनीहरू गइ सकेपछि म झोला खोल्छु । झोलामा साठी हजार रुपियाँ, रगतले लतपतिएको ‘सुमन’को लुगा र एउटा पत्र हुन्छ । ‘क.पिता, क. माता... लालसलाम,.. मुक्तियुद्धमा ‘सुमन’ सहिद हुनु भयो । बलिदानको उच्च मूल्याङ्कन गर्छाँै...लालसलाम !’
रूपा डाँको छाडेर रुन थाली । म पनि नरोई बस्न सक्तिनँ । रुनु बाहेक हामी के गर्न सक्थ्यौँ र ?!
‘छोरा काले, तैले यो के गरिस् ? हामीलाई छोडेर जान सकिस् कसरी ?’
‘काले होइन, ‘सुमन’ भन । धेरै चर्को नरोऊँ । सरकारी सुराकीहरूले सुन्लान् र फेरि अर्को आपत्ति थपिएला ..’ म उसलाई सुमसुम्याउँदै ढाडस दिन्छु । तर म आपैm पनि अत्यन्त विचलित भएको हुन्छु । हो पनि छोरा बिद्रोही जनसेनामा गएपछि थुप्रै सास्ती सहेका थियौँ, त्यो सम्झदा मुटु डरले काम्छ ।
‘सुनुन् ती सुराकीहरूले, ज्यानमाराहरूले । मारुन् मलाई पनि ! म अब डराउदिनँ, कालेको बाबु, डराउदिनँ । मर्न तयार छ,ु मार्न तयार छु । मेरो छोरा मार्नेहरूलाई श्राप दिन्छु, उनीहरूको सत्यानास होस् । यो आमाको श्राप हो, लाग्छ, लाग्छ...।’
‘शान्त होऊ, रूपा, शान्त होऊ । शोक सुर्ता गरेर केही फाइदा हुँदैन । नोक्सान मात्र हुन्छ । मन शान्त गर । बरु कसरी हामी छोराको ज्यानमारासँग बदला लिन सक्छौँ, उपाय सोचौँ ।’, म भन्छु ।
उसको अनुहारमा अलिकति उज्यालो पोखिन्छ र भन्छे— ‘हामी सबै जनसेनामा भर्ती भएर लडौँ छोराको मृत्युको बदला लिन...।’
‘अहिले तत्कालै निर्णय नगरौँ, राम्ररी सोचौँ ।’
छोराको मृत्युमा झन्डै हामीले होस गुमाएका थियौँ । आवेशमा झन्डै सबै परिवार जङ्गल पस्ने भएका थियौँ । तर माटोको सुगन्ध र खेतीपातीको मायाले खेती छाड्न सकेनौँ । जेठो छोरो जस्तै कान्छो छोरो सामदेम छोरी निलिमा पनि मारिए भने हाम्रा लागि धरती शून्य हुन्छ । खेती कसले थाम्छ ?
कान्छो छोरो सामदेमलाई पनि गाउँमा बस्दा बिद्रोहीले लान सक्ने वा सेनाले मार्न सक्ने डर भएकोले ‘सुमन’को ज्यानले साटिएको रकम दिएर उसलाई ‘अरब जाऊँ’ भनेर विदेश पठायौँ । ऊ अरब गयो र अहिले उतै छ । ऊ खबर पठाइरहेको छ— ‘नयाँ संबिधान बनेर थिति बसेपछि, केही गरि खाने वातावरण बनेपछि फर्किन्छु ।’
संबिधान कहिले बन्ने हो ? थिति कहिले बस्ने हो ? प्रतीक्षारत मेरो मनको अर्को पीर कसैलाई भन्न सक्तिनँ । छोरा सामदेम पनि बन्द बाकसमा लासको छातीमाथि पासपोर्ट राखेको पार्सल भएर आउने हो कि ? अरबबाट धेरैको लास त्यसरी आएको सुनेको छु ।
रूपा सधैं बिरामी हुन थालेकी थिई । रोगको जड मानसिक पीडा, सन्ताप र यातना रहेछ । छोराको मृत्युले ऊ रोगी बन्दै गई । सामदेमले खर्च पठायो भने अस्पताल लैजाउला भन्ने सोचेको थिएँँ । तर उसले पैसा पठाउनै सकेन । एक दिन रूपा बेहोस भई, अस्पताल नलगी धरै पाइएन । उसका लागि म जे पनि गर्न तयार थिएँँ । ऊ बिनाको जीवन म सोच्नै सक्तिनँ थिएँँ । हलगोरु बाहेक मसित बिकाउ सम्पत्ति अरु केही थिएन । ‘हल गोरु बेच्छौ ?’, मुखियाले सोधिरहेका थिए ।
गोरुहरू सस्तैमा बेचेँ । त्यस्ता गोरुहरू सायद म अब पाउन सक्तिनँ । मेरा छोराहरू जस्तै थिए ती गोरुहरू । दुःख सुखका साथी, म खुशी भएको, दुःखी भएको उनीहरू थाहा पाउँथे । जोत्दा पनि मेरो सानो ‘हँ...हँ’ मै मैले कसरी कहाँ कता जोत्न चाहेको हुँ, थाहा पाई हाल्थे । म एक्लै हुँदा उनीहरूसँग कुरा गर्थे यसरी— “माले, पाङ्ले, तिमीहरू मेरा छोराहरू हौ । हामीलाई पाली राखेका छौ । हँ...हँ... छेउछेउ, कुनाकुना ।”
गोरुहरू जवाफ फर्काउन सक्तैनथे तर मेरो कुरा बुझ्थे । पुच्छर, कान, टाउको हल्लाउदै मेरो कुराको प्रत्युत्तर दिन्थे । जोत्न सघाउ पु¥याउँथे । कहिल्यै चोरेर बालीनाली खाँदैनथे । सानो पगाहाले नै ती अजङ्गका गोरुहरूलाई बाँधेर राख्न सकिन्थ्यो । कहिल्यै दाम्लो चुडाएर बिझाई गरेनन् । भनेको मान्थे, दुःख दिदैनथे । सँगसँगै बसेको पनि पाँच वर्ष भइसकेको थियो । त्यस अन्तरालमा उनीहरूसँग मेरो अज्ञात आफन्तपन, घनिष्ठता, मित्रता, आत्मीयता र सुमधुर नाता बसि सकेको थियो । कुनै दिन उनीहरूलाई स्याहार्न नपाउँदा म दिक्क हुन्थे । जीवनसाथी रूपा जस्तै उनीहरू मेरा अत्यन्त प्रिय थिए । रूपा पनि उनीहरूलाई असाध्य माया गर्थी । जीउमा लागेको गोबर, फोहोर मैला परालको लुडीले पुछि दिँदा उनीहरू सन्च मान्थे । छोरी निलिमालाई पनि मुक आँखाले हेरेर उनीहरू माया, स्नेह र प्रेम दर्साउँथे ।
त्यस्ता सुबानी गोरुहरू मुखियासँग जान मान्दैनन् । मुखियाको मान्छेले दाम्लोले जबरजस्ती तान्दा डेग चल्दैनन् । मुिखयाले लौरोले कुटेर हिँडाउन खोज्दा मेरो मुटु चसक्क दुख्छ । मेरा आँखाहरू रसाए र उनीहरू छेउ गएर मैले भनेँ, ‘माले, पाङ्ले, मेरा छोराहरू ! तिमीहरूलाई मैले मुिखयालाई बेचेको छु । सुखसयल गर्न निर्दयी भएर बेचेको होइन । तिमीहरूका आमा रूपा सिकिस्त बिरामि छे । मर्नु न बाँच्नुको दोसाँधमा छे । तिमीहरूलाई बेचेर पाएको पैसाले उसको ज्यान बचाउनेछु । उसको ज्यान बचाउँन मैले ऊ जत्तिकै प्यारो तिमीहरूलाई बेचेको छु...जाऊ जाऊ, सकेभने फेरि तिमीहरूलाई फर्काउनेछु.... ।”
म मुखियाकै अगाडि धुरुधुरु रोएको थिएँ । म रोएको देखेर माले र पाङ्लेले एक आपसमा हेराहेर गरे । मान्छेहरूले ‘हुन्छ’ भन्ने संकेत गर्दा मुन्टो माथिबाट तल हल्लाए जस्तै टाउको हल्लाए । बाछालाई चाटेझैँ मलाई खस्रो जिब्रोले चाटेर मुक भाषामा मसँग ‘बिदा’ मागे । रसाएको आँखाले मलाई हेर्दै ‘आपूm बेचिएर भए पनि आमा रूपाको ज्यान बचाउने’ मेरो कुरा बुझेझैँ उनीहरू मुिखयासँग खुरुखुरु गए । त्यतिबेला मेरो पुरै मुटु भक्कानियो ।
हलगोरु बेचेको पैसाले उपचार गराएपछि रूपा बाँची तर शरीरको आधा भाग नचल्ने ‘प्यारालाइसिस’ भएर । आधा शरीर नचल्ने उसलाई लिएर म गाउँ फर्किएको छु । आधा शरीर नचल्ने उनीसँग म पनि कुँजो भएको छु । मनले पनि थाक्न थाक्न थालेको छु ।
मुलुकमा गणतन्त्र आयो । सहिदका पिता भनेर मलाई पनि कुनै कुनै सभाहरूमा मञ्चमा बसाउँछन्, सम्मान गरी टोपल्छन् । सरकारले निकालेको सहिदको नामावलीमा मेरो छोरो सुमनको नाम छैन । त्यो सूचीमा बिद्रोहीहरूले सुराकी भनेर मारेका जमिन्दारको नाम छ रे । अहिले सहिदको छोरा छोरीले पाउने छात्रवृत्तिमा जमिन्दारको छोराछोरी पढ्दै छन् । मैले भने छोरी निलिमालाई फिस तिर्ने, किताब, कपी, कलम, ड्रेस किन्ने खर्च नभएर स्कुल पठाउन छाडेको छु । उनीहरूले सहिदको परिवारलाई दिइने रकम पनि लिइ सकेका छन् । सहिदको नामावलीमा सहमति जनाउनेमा बिद्रोही नेताहरू पनि थिए रे । ती नेताहरूले आफ्नै सहिदहरूलाई पनि बिर्से रे । सहिद पनि भागबन्डामा बाडियो रे भन्ने सुनेको थिएँ ।
सहिदको पिता बनाई टोपलेको मेरो समस्या के छ ? वास्तविक सहिद परिवारले भोगि रहेको समस्या के छ ? विचार गर्दैनन् । सहिदको सपनाको कुरा गर्छन्, मानौँ ‘सहिदको सपना’ खेती गर्दा चाहिने हलो जस्तै राजनैतिक खेती गर्दा प्रयोग गर्नु पर्ने एउटा औजार हो, फगत औजार । म मञ्चमा बस्दा पनि आफ्नो समस्या एक क्षण पनि बिर्सन सक्तिनँ ।
‘गोरु छैन, कसरी खेती गर्छौ ?’ रूपा सोध्छे ।
‘जसरी भएपनि गर्छु नि । तिमीले सुर्ता गर्नु पर्दैन ।’ भन्छु म ।
‘सुर्ता कसरी नगर्नु । म तिमीलाई सघाउन सक्तिनँ । बाचुन्जेल तिमीलाई सघाउँला, साथ दिउँला भन्थे तर ...।’ उसको आँखाबाट आँसु खस्छ ।
‘म बाँचेकै छु, तिमी पनि बाँचेकै छौ । म केही न केही उपाय गरि हाल्छु नि ।’
केही न केही गर्छु, भन्छु तर यो असारको महिनामा कसले गोरु देला ? कसले जोतिदेला ? म मनमनै कुडिन्छु, कल्पन्छु, ‘यसपाली खेती बाझो हुने भो, उब्जनी नभए पछि भोकभोकै मर्ने भइयो ।’ सबै खेती खनि साध्य छैन । नगद भए त के थियो र ? खेती बाझो रहनु, किसानको लागि त्योभन्दा दुःखदायी र लाजमर्दो अरु केही हुँदैन । ट्रेक्टर मुखियाको छ तर अग्रिम पैसा नबुझाइ जोत्दैनन् । रूपा प्यारालाइसिसले लडि रहेकी छे । म पनि पहिला जस्तो तागतिलो, जोशिलो र सक्षम छैन । के गर्ने होला ?
खेती बाझै हुने भयो । खेती अहिले अरु कसले गरिदेला ? सबैलाई आफ्नै खेती उठाउन मुस्किल भइ रहेको छ । ‘खेती बाझै हुने भो .. कस्तो पीडादायी कष्टकारी अवस्था !’ मन चरक्क चिरिएर आउँछ । छोराको मृत्युको खबर थाहा पाउदा जस्तै आँसु आँखाबाट तुरुरु खस्छ । मनको धेरै पीडा, चिन्ता र पीरको बोझले थाकेको म भुसुक्कै निदाएछु ।
निकै परबाट ट्रेक्टर आइरहेको सानो आवाज आउँछ । म उतै हेर्छु, छोरी निलिमा आफै चलाएर सानो टे«क्टर ल्याइ रहेकी छे ।
‘कसको टे«क्टर हो ? किन ल्यायौ ?’
‘हाम्रो, सरकारले सहिद परिवारलाई सहयोग स्वरूप उपलब्ध गराएको ट्रेक्टर । हाम्रो खेत जोत्न ।’
‘हँ...’ हर्षविभोर तर आश्चर्यचकित म अकमक्क परेर अरु बोल्न नसकि छक्क पर्दै निलिमा र टे«क्टरलाई हेरि रहेको हुन्छु ।
मुखियाको खेत जोत्न गइ रहेको ट्रेक्टरको चर्को आवाजले म ब्यँुझन्छु । दिउँसै सपना देख्दै रहेछु । ‘दिउँसै सपना देख्नु’ भन्थे दिउँसै सपना देखेछु ।
Comments
Post a Comment