(कथा) आन्दोलन— सरण राई

 कथा
आन्दोलन





सरण राई


जीवनको गोलभँुमरीमा मानिस कहाँबाट कहाँ पुगेर के केमा फस्छ ; फस्दो रहेछ । चिताए जस्तो  कहाँ हुन्छ र !
     महाभूकम्पले अस्तव्यस्त पारेको अवस्था छवर्षसम्म नबनेको संबिधान बनेपछि व्यवस्थित हुन्छ कि भन्ने आशा गरिरहेका जनताहरू  चर्को तराई मधेश आन्दोलन र अघोषित भारतीय नाकाबन्दीको मारमा पर्छन् । त्यसै सन्दर्भमा ‘आन्दोलन’ भन्ने कथा लेख्ने विचार गरेको छु भन्ने  फेसबुकमा पोस्ट गरेँ । ‘आन्दोलनमा अज्ञान र निर्दोषहरू नै मारिन्छन्’ भनेर लेखेकोमा विभिन्न प्रतिक्रियाहरू आए । तर कैयौं महिना बितिसक्दा पनि  कथा लेख्न सकेको थिइनँ । तराई मधेश आन्दोलन थिग्रीसकेपछि कस्तो परिणाम आउँछ त्यसैअनुसार लेखौलाँ, सोच्दै थिएँ । आन्दोलन विविध रूप र रङ्गहरूमा बदलिँदै गयो । आन्दोलन निष्कर्शमा पुग्न नसकेकोले कथा लेखन पनि हुन सकेन ।
कथा लेख्छु भने पछि लेख्नै पर्ने भयो । पात्रहरू कसलाई बनाउने ? २००४ सालदेखि अहिलेसम्म अनेकौं व्यवस्था र आन्दोलनहरू बेहोरीसकेको पात्रलाई नै मुख्य पात्र बनाएर कथा लेखौँ कि भन्ने सोचेँ । त्यस्तो पात्रको कमि थिएन । धेरै पात्रहरूमध्ये उपयुक्त पात्रको छनौट गर्न मुस्किल भईरहेकोले कथा बढ्न सकिरहेको थिएन । जे होस् लेख्नै प¥यो । आँट कसेँ ।
हामी बाँचेको कालखण्ड नैे क्रान्ति, बिद्रोह र आन्दोलनको कालखण्ड हो ।  म २००७ सालभन्दा अगाडि पूरा ताल्चा मारिएको अँध्यारो युग, २०१७ सालको राजाको प्रतिगामि कदमको जन्माएको तीस वर्षे निरंकूश पञ्चायती व्यवस्था, २०४६ सालको जनआन्दोलनले   पुनस्थापना गरेका बहुदलीय व्यवस्था, दसवर्षे जनबिद्रोह र १९ दिने जनआन्दोलनले ल्याएको लोकतान्त्रिक गणतन्त्रका विभिन्न कालखण्डहरूमा कुनै नीजि लाभको लागि नभई एउटा असल व्यवस्था आओस्  भन्ने भावनाले सक्रिय भएको मूल पात्रको खोजिमा हुन्छु ।  
त्यस्तो पात्रहरूमध्ये नागेन्द्र पनि एउटा हो । उसैलाई प्रतिनिधी पात्र बनाएर कथा लेखन थाल्छु । 
 नागेन्द्र  गणतन्त्र प्राप्ति भएकोले  अत्यन्त उत्साहित र खुशी भइरहेको हुन्छ । गणतन्त्र प्राप्तिपछि अब कसैले क्रान्ति, बिद्रोह र आन्दोलनमा ज्यान गुमाउनु पर्ने छैन भन्ने उसको धारणा हुन्छ । त्यसैले ऊ अब कुनै आन्दोलनमा भाग नलिई आपूmले भोगेको राजनैतिक अनुभवहरूका आधारमा एउटा विश्लेषणात्मक राजनैतिक पुस्तक लेख्ने विचार गरिरहेको हुन्छ । म ‘सहयात्री’ पत्रिकाका लागि मैले नै लिएको उसको अन्तरवार्ताबाट  कथा आरम्भ गर्ने जमर्को गर्छु । 
प्रश्न — तपाईँ लामो समयसम्म लोकतन्त्र प्राप्तिको सङ्घर्ष र पत्रकारितामा संलग्न हुनु भयो । त्यस अवधिमा तपाईँको अनुभव के छ ?
नागेन्द्र  —पहिलाको समयमा पत्रकारहरू र जनताहरू खुम्चिएर बस्नु पर्ने अवस्था थियो । स्वतन्त्रता र अधिकार थिएन । अधिकांश मानिसहरूलाई  स्वतन्त्रता र अधिकारबारे थाहा पनि थिएन । त्यस्तो बेला पनि इमानदार बौद्धिक व्यक्तिहरू भावी पुस्ताको लागि असल व्यवस्था आओस् भनेर जिउ ज्यान फालेर लागिरहेका थिए । म पनि उनीहरूजस्तै असल व्यवस्था प्राप्तिका लागि आपूmले सक्ने कार्यहरू गरिरहेको थिएँ ।  त्यस बेला ‘अँध्यारो सधैं रहिरहदैन’ भन्ने मेरो निष्कर्श आज सत्य भएको छ । उज्यालो सधैंभरि छेकेर छेकिन्न ।
प्रश्न— अहिले उज्यालो प्राप्त भएको हो त ?
नागेन्द्र— पूरा उज्यालो भइसकेको छैन । तर उज्यालो हुन थालेको छ । आफ्नो बिरानो छुट्टाउन नसकिने निष्पट्ट अँध्यारो छैन, जहाँ केही देखिदैन । गोरेटो, बाटो र गन्तव्य देख्न सकिने उज्यालो भने आएको छ ।
प्रश्न— त्यसो भए यो उज्यालो आजसम्मका सङ्घर्ष र आन्दोलनबाट  प्राप्ति भएको मान्नु हुन्छ ?
नागेन्द्र —  भावी पिँढीले सुखका दिन देख्न पाउन् भनेर सङ्घर्ष र आन्दोलनमा निरन्तर लागेका सबैका लागि  यो प्राप्ति हो । स्वतन्त्रता सहितको अधिकार प्राप्तिको बाटो खुल्न थालेको छ ।
प्रश्न— तपाईँ कुन कुन आन्दोलनमा सरीक हुनु भयो  ? आन्दोलनमा के के भोग्नु भयो ?
नागेन्द्र —  मेरो जन्म निरंकुश राण साशनमा भएको थियो । २००७ सालपछि अलिअलि चेतनाको विकास हुन लागेको बेला प्रजातन्त्रको गला निमोठियो । पिजडाको सुगाजस्तो भएका जनताले प्रजातन्त्र ल्याउन आन्दोलन गर्नु पर्ने भयो । २०३६ बिद्यार्थी आन्दोलन, २०४६सालको जन आन्दोलन, २०६२÷६३ सालको जन आन्दोलनहरूमा भाग लिने सौभाग्य प्राप्त गरेँ । पुलिसको कुटाइ खाएको छु र कैयौ पल्ट जेल  परेको छु । जनताको अधिकार प्राप्ति र असल राजनैतिक व्यवस्थाको लागि मैले जीवनभर जे जति गर्न सकेँ, गरेँ त्यसबाट सन्तुष्ट छु । नीजि लाभ मेरो अभीष्ट नभएकोले अहिले पनि म झोले हुन सक्दिनँ । तर म सन्तुष्ट छु मजस्ताहरूको सानोतिनो योगदानले गणतन्त्र प्राप्त भएको छ । अब भावी पुस्ताले हामीले जस्तै क्रान्ति, बिद्रोह र आन्दोलनमा ज्यान गुमाउनु पर्ने छैन । आन्दोलन गर्नुपर्ने छैन । अब आन्दोलनको युग समाप्त भएर निर्माण, सम्पन्नता र सुखको दिन आउँन लागेको छ ।
यो अन्तरवार्तामा हाम्रा मूल पात्रले भनेजस्तै आन्दोलनको युग समाप्त भएन । संबिधानमा समावेश हुनुपर्ने  नयाँ थप मागहरू राखेर फेरि आन्दोलनहरू थालिए । 
संबिधान बन्यो तर सर्वस्वीकार्य भएन । संबिधान पुनर्लेखन वा शंसोधनको आन्दोलनले तराई मधेश ढाक्यो । आन्दोलनकारीहरू मारिए । प्रहरीहरू मारिए । मान्छे मारिने क्रम बृद्धि हुन थाल्यो । आन्दोलन डडेलोझैँ तराई मधेश सबै क्षेत्रमा फैलिदै गयो । यातायात बन्द । आयात निर्यात बन्द । भारतीय अघोषित नाकाबन्दीले जनजीवन अस्तव्यस्त । महाभूकम्पले जर्जर पारेको अर्थतन्त्र र जनजीवन  आन्दोलनको चपेटामा परेर महा चौपट । दवाब, चर्को दवाब सिर्जना गरेर माग पूरा गराउने चर्को आन्दोलन !  फरक धरातलको आन्दोलन ! को हार्ने ? आन्दोलनकारी कि आन्दोलनकै जगमा बनेको सरकार ? जो हारे पनि देश हारीरहेको हुन्छ तर कसैलाई हेक्का थिएन ।
नागेन्द्रको गाँउमा पनि आन्दोलन पुग्यो । उसलाई आफ्नो हुर्केको नाति देख्दा बुढेसकाल सजलिोसित अवतरण हुनेमा ढुकक थियो । नाति साथमा हुँदा गौरव र खुशीले  छाती चौडा हुन्थ्यो, सुरक्षाको बलियो अनुभूति हुन्थ्यो । तर आन्दोलनमा उसको  त्यही प्यारो तन्नेरी नाति मारियो । उसको सपना तुहियो ।  नातिको लाश अस्पतालमा अलपत्र छ । सरकारले माफि नमागेसम्म लाश नउठाउने आन्दोलनकारीको अडान । माग पूरा गराउन जस्तो पनि कदमहरू चाल्ने रे, नाकाबन्दी गरिरहन आव्हान गर्ने रे, आन्दोलनमा मारिनेहरूलाई आन्दोलनकारीको सरकार बनेपछि पचास लाख रकम दिने रे । रे रे को अफवाहभित्र रुमल्लिरहेको आन्दोलन । 
नागेन्द्र अत्यन्त व्यथीत भए । पीडित भए ! आफ्नै नाति मारिने व्यवस्था ल्याउन उसले आन्दोलन गरेको थिएन । कस्तो व्यवस्था ? कस्तो संबिधान ? जहाँ सबै नागरिकहरू अटाउदैनन् । जहाँ अटाउनका लागि नागरिकहरू आन्दोलनको ज्वालाले पिल्सिनु पर्ने ? घरका पाको अविभावक ऊ दिल खोलेर रुन पनि सक्दैन । “कात्रो किनेर ल्याउँछु” भन्दै बन्द बन्दमै आँसुको अविरल धारा चुहाउँदै साइकल चढेर सदरमुकामको बजारतिर लाग्यो । तर ऊ नातिको लाशको लागि कात्रो लिएर फर्किएन ।
प्रहरीको गोली लागेर खेतमा लडिरहेको उसको लाश भेटियो । साइकल छेउमा लडिरहेको थियो । भावी उज्यालोको सपना साकार पार्न ऊ जीवनभरी आन्दोलनमा सरीक भयो । आन्दोलन सफल पनि भयो । अब भावी पिँढीले कहिल्यै आन्दोलन गर्न नपरोस् भन्ने ऊ  त्यो आन्दोलनमा भाग नलिएकै भए पनि आन्दोलनमै मारियो ।
जीवनको गोलभुमरी ! आन्दोलन, आन्दोलनमै उसको जीवन बित्यो । आन्दोलनकै गोलभुमरीमा उसको जीवन अन्त्य भयो । दोष कसको थियो ?


२०७२ फागुण १७, सुकेधारा




Comments

Popular posts from this blog

विस्थापित मुटु

फुली